काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार हाल संचालनमा रहेका १९ कम्पनीले साउन मसान्तसम्ममा सो रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
१९ कम्पनीले संकलन गरेको कुल बिमाशुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । सो कम्पनीले यो महिनामा ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, लाइफ इ्रन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल)ले पनि बीमा ब्यवसायमा उत्कृष्ट सुधार गर्दै १ अर्ब ८८ करोड कुल बीमा शुल्क आर्जन गरी दोस्रो स्थान रहेको छ ।
त्यस्तै, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । भने सो समयमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १६ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



