काठमाडौँ । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको छ ।
महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् ।
शुक्रबारदेखि गरिएको परीक्षणमा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो ।
त्यसैगरी आज वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।
आइतबार वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने छ ।
सोमबार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ वडामा परीक्षण हुनेछ ।
कामपाले परीक्षणको प्रारम्भिक योजना अनुसार ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र राखेर परीक्षण गरिनेछ भने १७ वटा साना वडामा हरेक १/१ वटा केन्द्र राखिनेछन् ।
परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरिएको छ ।



