काठमाडौं । सरकारको अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानहरुले ४८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । विभिन्न क्षेत्रका ४२ वटा सार्वजनिक संस्थानहरुले आर्थिक वर्ष २०७६/७७ मा ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका हुन् । तीमध्ये २४ सार्वजनिक संस्थान नाफामा छन् भने १८ संस्थान नाेक्सानमा छन् ।
यसरी नाफा कमाउनेमध्ये सबैभन्दा बढी नाफा जनउपयोगी क्षेत्रबाट २० अर्ब ७३ करोड ९ लाख रुपैयाँ रहेको छ । यो क्षेत्र अन्तर्गत नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३ करोड, नेपाल टेलिकमको ९ अर्ब ७४ करोड ९० लाख रुपैयाँ रहेको छ । विद्युत् उत्पादक कम्पनी र राष्ट्रिय ग्रिड कम्पनी सामान्य नाफामा रहँदा नेपाल खानेपानी संस्थान नोक्सानको अवस्थामा छ ।
त्यस्तै, वित्तीय क्षेत्रका संस्थानहरुले गत आर्थिक वर्षमा १६ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यसमध्ये सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ३७ करोड, कृषि विकास बैंकको ३ अर्ब ३३ करोड रुपैयाँ नाफा रहेको छ । यो क्षेत्र अन्तर्गका सबै संस्थानले यो वर्ष नाफा कमाएका छन् ।
सामाजिक क्षेत्र अन्तर्गका संस्थानहरु भने अधिकांश नोक्सानमा छन् । सांस्कृतिक संस्थान, जनक शिक्षा सामाग्री केन्द्र, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी यो वर्ष घाटामा गएका छन् भने गोरखापत्र संस्थानले २ करोड रुपैयाँ नाफा गरेको छ । यो क्षेत्रको कुल नोक्सान ३० करोड रुपैयाँ रहेको छ ।
व्यापारिक क्षेत्रका कम्पनीमध्ये यो वर्ष नेपाल वन निगम बाहेक अरु संस्थान नाफामा छन् । यस अन्तर्गत कृषि सामाग्री कम्पनी, खाद्य तथा व्यापार कम्पनी, नेपाल आयल निगम, नेपाल वन निगम लिमिटेड छन् । यो क्षेत्रको कुल नाफा १२ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ छ ।
औद्योगिक क्षेत्र अन्तर्गत कुल १० वटा कम्पनी रहेकोमा २ वटा कम्पनी मात्रै गत वर्ष नाफामा छन् । जडिबुटी उत्पादक कम्पनी र धौवादी फलाम कम्पनीले सामान्य नाफा गर्दा बाँकी रहेका दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्ट, जनकपुर चुरोट कारखाना, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरियन्ट अक्साइड, बुटवल धागो कारखाना र नेपाल मेटल कम्पनी नोक्सानमा छन् । अधिकांश कम्पनी नोक्सानमा हुँदा कुल नोक्सान ९१ अर्ब रुपैयाँ पुगेको छ ।
उता सेवा क्षेत्र अन्तर्गतका ९ कम्पनीमध्ये ५ कम्पनी यो वर्ष नोक्सानमा छन् । नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल पूर्वाधार निर्माण कम्पनी र नेपाल रेल्वे कम्पनी नोक्सानमा छन् भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, साझा यातायात सहकारी र विशालबजार कम्पनी नाफामा रहेका छन् । यद्यपि समग्रमा भने यो क्षेत्रका सार्वजनिक संस्थानहरु ७८ करोड ७२ लाख रुपैयाँ नाफामा छन् ।
यो वर्ष १ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाउने कम्पनीको संख्या १० रहेको छ । ती कम्पनीहरुले कुल ५१ अर्ब ९६ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
नेपाल आयल निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नागरिक लगानी कोष र जलविद्युत् तथा लगानी विकास कम्पनी यी कम्पनी अन्र्तगत छन् ।



