काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले अहिलेको अवस्थामा जुनसुकै समयमा पनि पेट्रोलियम ढुवानी र बिक्री वितरण बन्द हुनसक्ने चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको आपूर्ति एवं विक्री वितरण गर्दै आएका व्यवसायीहरुको सो संस्थाले सरकारले खोपको व्यवस्था नगरेको भन्दै यस्तो चेतावनी दिएको हो ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याललाई पत्र लेख्दै एशोसिएसनले १० हजार ३ सय ४६ जना पेट्रोलियम व्यवसायी र श्रमिकलाई खोप लगाउन यसअघि नै माग गरे पनि हालसम्म कसैले नपाएको जनाएको छ ।
खोपको अभावकै कारण हालसम्म पेट्रोलियम क्षेत्रमा काम गर्ने १ हजार जना भन्दा बढी संक्रमित भइसकेको र ११ जनाको मृत्यु भइसकेको समेत संघले प्रस्तुत गरेको छ ।
खोपको माग गर्दै एशोसिएसनले सरकारलाई पत्र लेखेको यो तेस्रो पटक हो । यसअघि फागुन ७ गते र बैशाख १७ गते पनि एशोसिएसनले सरकारलाई पत्र पठाएको थियो ।



