काठमाडौं । अध्यादेशमार्फत् बजेट ल्याउने विषयमा राष्ट्रिय योजना आयोगका ९ जना पूर्व उपाध्यक्षहरुले असहमति जनाएका छन् ।
बिहीबार संयुक्त रुपमा अपिल गर्दै पूर्व उपाध्यक्षहरु पृथ्वीराज लिगल, डाक्टर जगदीशचन्द्र पोखरेल, डाक्टर शङ्कर शर्मा, डाक्टर पीताम्बर शर्मा, डाक्टर दिनेशचन्द्र देवकोटा, डाक्टर गोविन्दराज पोख्रेल, डाक्टर मीनबहादुर श्रेष्ठ, डाक्टर स्वर्णिम वाग्ले र दीपेन्द्रबहादुर क्षेत्रीले अध्यादेशमार्फत् ल्याउने बजेटले देश पछि धकेलिने बताएका छन् ।
उनीहरुले प्रतिनिधि सभा नै नरहेको अवस्थामा जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था नरहेको भन्दै यसलाई रोक्न माग समेत गरेका छन् ।
आम सरोकारवालाको आग्रहलाई बेवास्ता गर्दै जबरजस्ती पूर्ण बजेट ल्याउन खोज्ने, बजेटमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम समेट्ने, अत्यधिक ऋण लिने र राजस्वका दर परिवर्तन गर्ने जस्ता काम गर्नु राजनीतिक नैतिकताको गम्भीर उल्लङ्घन संयुक्त प्रेस विज्ञप्तीमा जनाइएको छ ।




