काठमाडौँ । कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो ।
यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र मासिक सञ्चालन खर्चबापत करीब रु ४८ लाख १६ हजार ६०० रकम सहयोग गरेको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र नगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा आज अस्पताल सञ्चालनको शुभारम्भ गरे ।
अस्पतालका निर्देशक डा प्रेमकुमार जोशीका अनुसार अब अस्पतालमा सात आइसियु, चार भेन्टिलेटर, छ एचडियुसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
अस्पतालको पूर्वाधार सुधारका लागि करीब रु ३० लाख खर्च गरेर लिफ्ट जडान गरिसकेको र नयाँ भवन निर्माण गर्न करीब रु पाँच करोड विनियोजन गरेको नगर प्रमुख शाक्यले जानकारी दिए ।
गत वैशाख २५ गतेदेखि अहिलेसम्ममा महानगरले कोरोना नियन्त्रणका लागि आवश्यक यन्त्र उपकरण सहयोग गर्न भन्दै १२ अस्पतालसँग सम्झौता गरिसकेको छ ।
यसरी सम्झौताबमोजिम छत्रपाटी अस्पतालमा आजदेखि कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० श्ययाको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ श्ययाको एचडियु र २५ श्ययाको साधारण गरी ५० श्ययाकोे आइसोलेशन सञ्चालनमा आइसकेका छन् ।
यस्तै विभिन्न अस्पतालमा ४२ भेन्टिलेटर र १० थान प्रेसर यन्त्र जडान हुँदैछन् ।



