काठमाडौं । कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरिएको छ ।
भन्सार विभागले सूचना जारी गर्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।
विभागले लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिने र लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिने बताएको छ ।
गत चैतको दोस्रो साता विभागले छ सय साठी एजेन्टका लागि इजाजत खुला गरेको थियो ।
दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको थियो ।
यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो ।
अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ ।
भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।



