काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशनसम्बन्धी विनियमावली, २०७३ बमोजिम उक्त सम्झौता भएको हो । सिर्जना फाइनान्स विराटनगर प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो ।
सम्झौतामा बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दुई संस्थाले एक्जििसनका लागि अन्तिम स्वीकृतिको ािवेदन पेश गर्नेछन् । राष्ट्र बैंकको स्वीकृतिपछि दुुई संस्थाबीचको एकीकृत कारोबार सुरु हुनेछ । यो प्रक्रिया असारभित्रै सम्पन्न गर्ने योजना छ ।
सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । सिर्जनालाई प्राप्ति गरेपछि १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ । २०७८ साल जेठ ९ गते सम्मको तथ्याङ्कको आधारमा प्राप्तिपछि निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।
हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिब १२ लाख पुग्नेछ ।



