images
images

हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने : कामपा


  • 463
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने : कामपा

    काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले  यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको छ ।

    परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ । 

    यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिए । 

    ठूलो समूहमा गर्न लागिएको यस किसिमको परीक्षणका लागि हाल काम गरिरहेका जनशक्तिले अपुग भए थपेर भए पनि परीक्षण गर्ने बताइएको छ । 

    परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ समूहलाई सक्रिय बनाइनेछ ।

    परीक्षणका लागि कामपाका ठूला १५ वडामा प्रतिवडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक÷एक केन्द्र राखिनेछन् । आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने विभागले जनाएको छ ।

    यसअघि कालिमाटी तरकारी तथा फलफूल बजार र टुकुचा तरकारी बजारमा गरी दुई ठाउँमा यस प्रकारको परीक्षण सम्पन्न भएको छ । 

    हालसम्म कामपामा ५८ हजार ४०२ जना सङ्क्रमित रहेका छन् । तीमध्ये ४६ हजार ५४६ निको भइसकेका छन् भने ४०३ को कोरोनाका कारण मृत्यु भएको छ । अहिले ११ हजार ५४६ सक्रिय सङ्क्रमित रहेका छन् ।

    कामपाको ३२ वडाबाट मात्रै अहिले दैनिक ६०० जनाको पिसिआर परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४०० भन्दा बढीमा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । 

    सङ्क्रमण बढेपछि अघिल्लो आइतबारदेखि कामपाले १६ वटा केन्द्र बनाएर पिसिआर परीक्षण गरिरहेको छ ।


    images
    images

    Logo