काठमाडौं । काठमाडौं उपत्यकामा दोस्रो भेरियन्टको जोखिम बढ्ने सम्भावनालाई ध्यानमा राखेर एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।
अब थपिने एक साताको निषेधाज्ञा झन कडा हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली बताए ।
बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालयहरुमा पनि अहिले भइरहेको उपस्थितिलाई न्यून गर्ने भन्नेबारे प्रशासनमा छलफल भइरहेको छ ।
प्रजिअ पराजुलीका अनुसार अध्यादेशले कारबाही र जरिवानाको दायरा पनि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार अहिले संक्रमितको उपचारको लागि उपचार सामग्रीको सहज आपूर्ति भइरहेको बेलामा निषेधाज्ञा थप्न जरुरी रहेको छ ।
काठमाडौं उपत्यकाको संक्रमणदर निषेधाज्ञामा कडाइ गरे बमोजिम घटेको छैन । विषेशगरी विहानको समयमा तरकारी किनबेच गर्दा बढी भिडभाड देखिएको छ र पछिल्लो समय सडकमा सवारी चाप पनि बढेको छ ।
विहानको भिडभाव, सवारी चाप र अनावश्यक भिडभाड कसरी व्यवस्थापन गरी संक्रमणदर घटाउने भनि तयारी थालेको र जनसंख्याको उच्च चाप भएको उपत्यकामा निषेधाज्ञामा अझ कडाइ गरिने योजना बनाइएको छ ।
यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा फितलो भएकाले राजधानीको संक्रमणदर नघटेको र निषेधाज्ञा कडाइ गर्न भन्दै सूचना जारी गरेको थियो ।
काठमाडौं उपत्यकाको निषेधाज्ञाको समयावधी जेठ १३ गते सकिँदैछ ।



