काठमाडौं । वसन्तयामको सुरुवातसँगै आज मात्र झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् ।
आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेका छन् ।
मौसमले साथ दिए आगामी २८ र २९ तारिख सर्वाधिक आरोहण हुने जनाइएको छ ।
अहिले विश्व कीर्तिमानी कामीरिता शेर्पा २६औँ पटकको आरोहणका लागि आधार शिविरमा छन् । अझै पनि बाक्लो सङ्ख्यामा आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेको बताइएको छ ।
यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो । वसन्तयामको जारी आरोहणका क्रममा पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो ।
वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो । कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे रोप फिक्सिङ सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।
पर्यटन विभागले सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिएको छ । यो सङ्ख्या सन् २०१९ को वसन्तयामको भन्दा बढी हो ।
वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।



