काठमाडौं । निषेधाज्ञाका कारण मुलुकभरका अधिकांश विकास आयोजना प्रभावित भए पनि नागढुंगा–नोबीसे सुरुङमार्ग निर्माण प्रक्रियाले भने निरन्तरता पाइरहेको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरुङमार्ग निर्माणको काम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए ।
सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको र हाल ५४३ मिटरसम्म खनिसकेको शाक्यले बताए ।
जसमा मूख्य सुरुङ १४० मिटर, इभाक्युएसन टनेल सुरुङ २८४ मिटर र वर्किङ अडिट सुरुङ ११९ मिटर खनिएको छ ।
२०७६ असोज ६ गते सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढेको थियो ।
सुरुङ खन्ने काम भने २०७७ पुसदेखि मात्र शुरु गरिएको थियो ।
जापानी कम्पनीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको र सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० कि.मि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ ।
यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ ।
सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबीसे पुग्न सकिनेछ ।
सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराएको छ ।
यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र मुआब्जाका लागि नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।



