काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णयविरुद्ध ५ दलका नेताहरुले संयुक्त धारणा बनाएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवाली केन्द्र र राष्ट्रिय जनमोर्चा तथा नेकपा एमालेका माधव नेपाल–झलनाथ खनाल समूह र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहबाट संयुक्त रुपमा धारणा बनाइएको हो ।
काँग्रेसका तर्फबाट सभापति शेयरबहादुर देउवा, माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेल, एमालेका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल तथा जसपा नेपालका तर्फबाट अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा १४९ जना सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको सट्टा उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपतिले संसद विघटन गरेको आरोप लगाइएको छ ।
यस्तो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यविरुद्ध एकतावद्ध हुन आफूहरु कटिवद्ध रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।



