काठमाडौं । कोरोना जोखिम बढेसँगे स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न ९४ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ ।
उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।
कूल तीस टन तौल, अमेरिकी डलर ८० लाख नेपाली रुपैयाँ झण्डै ९४ करोड बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।
भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर र सुरक्षा उपकरणले नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेछ भने एण्टिजेन परीक्षणले स्वास्थ्य परीक्षण, सामुदायिक स्तरमा निगरानी र बिरामीहरूको शिघ्र आइसोलेशनलाई सहज बनाउँदै भाइरसको फैलावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पुर्याउनेछ ।
स्वीट्जरल्यान्डले यसअघि पनि नेपाललाई विभिन्न सहयोग गर्दै आएको छ ।



