काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले १४ वटा साधारणसभा एकैपटक गर्ने भएको छ । आर्थिक वर्ष २०६३/६४ देखि साधारणसभा गर्न नसकेको सो कम्पनीले गत वर्षसम्मको साधारणसभा एकैपटक गर्न लागेको हो ।
कम्पनीको चैत २७ गते बसेको सञ्चालक समिति बैठकबाट निर्णय भइ आगामी जेठ ३० गते उक्त साधारणसभा बस्न लागेको उद्योगले जनाएको छ । साधारणसभामा कम्पनीको २० औं देखि ३३ औं वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरि पारित गर्ने तथा आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने कार्ययोजना छ ।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हाल रहेको ४ अर्ब पुँजीलाई बढाएर १० अर्ब पुर्याउने, हालसम्म सरकारसँग लिएको ऋणको साबाँ ब्याजवापतको ३ अर्ब ३८ करोड रुपैयाँ बराबर रकमलाई शेयर जारी गरी त्यसमा रुपान्तरण गर्ने एवं आवश्यकता अनुसार विधान संशोधन गर्ने एजेन्डा तय गरिएको छ । यसरी जारी गर्ने शेयर सरकारकै नाममा रहनेछ ।
उदयपुरको जलजलेस्थित उद्योगको सभाहलमा बोलाइएको उक्त साधारणसभा कोभिड १९ महामारीको कारण सहभागीहरुलाई भने भर्चुअल माध्यमबाट सहभागी गराइने कम्पनीले जनाएको छ । यो कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सार्वजनिक संस्थान हो । लामाे समयदेखि रिक्त रहेकाे महाप्रबन्धक पदमा गाेपी न्याैपानेकाे नियुक्तिपछि उद्याेगले संख्यात्मक र गुणात्मक दुवै हिसाबले आफुलाई सुधार गर्दै गएकाे छ ।



