काठमाडौं । देश कोभिड १९ कहामारीका कारण आक्रान्त भएको बेला काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चिकित्सा शिक्षा ऐनलाई लत्याउदै झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेका छन् ।
यही जेठ २ गते केयूले चिकित्सा शिक्षा आयोगलाई पत्र लेखी सम्बन्धनका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै सिट संख्याका लागि स्वीकृति दिन अनुरोध गरेको छ ।
केयूले आयोगलाई लेखिएको पत्रमा भनिएको छ, ‘यस विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले २०७८ साल बैशाख २२ देखि २६ गतेसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण गरेको र निरीक्षण प्रतिवेदन अनुसार झपास्थित बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ (६) अनुसार सम्बन्धनको लागि सहमति दिँदै सिट संख्याका लागि स्वीकृति दिन अनुरोध गरिएको छ ।’
चिकित्सा शिक्षा ऐन अनुसार कुुनै पनि मेडिकल कलेजले आशयपत्र तथा सम्बन्धन स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा निवेदन दिनुपर्छ । सोही अनुरुप बी एण्ड सीको हकमा सञ्चालक दुर्गा प्रसाइँ यस्तो निवेदन लिएर आयोग पुगेका थिए । तर, २०७३ सालदेखि नै उक्त कलेजले मनशायपत्र नवीकरण नगरेकोले आवश्यक प्रक्रिया पूरा गरेर आउनुभनी आयोगले फर्काएको थियो । नेपाल समाचारपत्रबाट



