काठमाडौं । सरकारी निकायमा एकपटक बुझाइसकेको व्यक्तिगत विवरण पुनः–पुनः पेश गर्नुपर्ने झन्झट अन्त्य गर्ने उद्देश्यसहित राष्ट्रिय किताबखानाले आफ्नो प्रणालीमा ‘अटो फिल’ सुविधा कार्यान्वयनमा ल्याएको छ । यसका लागि लोकसेवा आयोगसँग प्रणालीबीच अन्तर–आवद्धता विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र लोकसेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माले हस्ताक्षर गरेका हुन् । आयोगका सचिव रामेश्वर दंगालको उपस्थितिमा आयोजित कार्यक्रममा दुई निकायबीच सहकार्यको औपचारिक सुरुवात गरिएको हो । यो व्यवस्था लागू भएपछि लोकसेवा आयोगमार्फत नियुक्त भएका नयाँ कर्मचारीले आयोगमा पेश गरिसकेको व्यक्तिगत विवरण तथा त्यसका प्रमाणहरू राष्ट्रिय किताबखानाको प्रणालीमा पुनः प्रविष्ट गर्नुपर्ने वा कागजात फेरि–फेरि पेश गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।
सरकारले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूची अन्तर्गत बुँदा नं। २९ र ३६ ले सरकारी निकायबीच प्रणालीगत अन्तर–आवद्धता कायम गरी नागरिकबाट एउटै विवरण पटक–पटक माग्ने प्रवृत्तिको अन्त्य गर्ने लक्ष्य लिएको छ । सोही नीतिअनुसार राष्ट्रिय किताबखानाले आफ्नो प्रणालीलाई आवश्यक रूपमा परिमार्जन गर्दै ‘एक पटक विवरण, सधैं प्रयोग’ अवधारणालाई कार्यान्वयनमा ल्याएको जनाएको छ ।
राष्ट्रिय किताबखानाले करिब तीन महिनाअघि नै संघीय निजामती सेवामा नयाँ नियुक्त कर्मचारीका लागि ई–शिटरोल रेजिष्ट्रेशन सेवा सञ्चालनमा ल्याइसकेको थियो । उक्त सेवामार्फत कर्मचारीले घरमै बसेर मोबाइल, ल्यापटप वा कम्प्युटरबाट शिटरोल दर्ता, संकेत नम्बर प्राप्ति तथा प्रमाणित शिटरोल डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ । यस सेवाका लागि कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकता छैन ।
अब लोकसेवा आयोगसँगको प्रणालीगत अन्तर–आवद्धता कार्यान्वयनमा आएपछि कर्मचारीले लोकसेवाको मास्टर आईडी प्रविष्ट गर्नेबित्तिकै आयोगमा रहेको सम्पूर्ण व्यक्तिगत विवरण स्वतः प्रणालीमा भरिनेछ । यसबाट नाम, थर, बाबु–बाजेको नाम, वैवाहिक अवस्था, स्थायी तथा अस्थायी ठेगाना, शैक्षिक योग्यता, नागरिकता नम्बर, जारी मिति, जारी जिल्ला लगायतका विवरण पटक–पटक टाइप गर्नुपर्ने बाध्यता हट्नेछ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले सरकारले अघि सारेको शासकीय सुधारको मर्मअनुसार प्रणालीलाई आवश्यक रूपमा परिमार्जन गरिसकिएको र एपीआई मार्फत दुवै निकायका प्रणालीबीच अन्तर–आवद्धताको सम्पूर्ण प्राविधिक तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार समझदारीपत्रले अब उक्त व्यवस्थालाई नीतिगत रूपमा कार्यान्वयन गर्ने बाटो खुला गरेको हो ।
पोखरेलका अनुसार ई–शिटरोल रेजिष्ट्रेशन सेवा सुरु भएयता लक्षित सबै नयाँ कर्मचारीले (शतप्रतिशत) यस सेवाको उपयोग गरिरहेका छन् । ई–पेन्सन सेवापछि यो सेवा अझ प्रभावकारी र लोकप्रिय बनेको उनको दाबी छ । राष्ट्रिय किताबखानाले यो प्रणाली कार्यान्वयनसँगै सेवाग्राहीको समय, श्रम र खर्च बचत हुनुका साथै विवरणमा एकरूपता, शुद्धता, विश्वसनीयता र गुणस्तर कायम हुने तथा सरकारी सेवा प्रवाह अझ सरल, छरितो र प्रयोगकर्तामैत्री बन्ने विश्वास व्यक्त गरेको छ ।



