काठमाडौं । समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रदलाई ध्रितोपत्र बोर्डले स्वीकृति दिएको छ । बुधबार बोर्डले सो फाइनान्सलाई २७ करोड २९ लाख रुपैयाँ बराबरको २७ लाख २९ हजार कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो । सो हकप्रद बिक्रीका लागि फाइनान्सले वीओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अहिले सो फाइनान्सको चुक्ता पुँजी ५४ करोड ५९ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि उक्त पुँजी ८१ करोड ८९ लाख पुग्नेछ । यो नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका फाइनान्स कम्पनीका लागि तोकेको न्यूनतम ८० करोड चुक्ता पुँजी भन्दा बढी हो ।
तात्कालीन वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्तबाट मुक्त भएपछि समृद्धि फाइनान्सको नाममा नयाँ ब्राण्डिङ गरेको सो फाइनान्सले न्यूनतम ८० करोड चुक्ता पुँजी पुर्याउन बाँकी छ । राष्ट्र बैंकले यसको लागि सो फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त भएको मितिबाट २ वर्षको समय दिएको छ ।