काठमाडौं । शेयर बजारमा आज पनि झन्डै ८० अंकको गिरावट आएको छ । साताको दोस्रो दिन सोमबार बजारमा ७९.५७ अंकले घट्दा परिसूचक २ हजार २ सय ८१ दशमलव ६७ विन्दुमा झरेको हो । बजारमा आज ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
आज बजार १०० अंक भन्दा धेरैले घटेपछि सुधार हुने प्रयास गरेको थियो । कारोबारको साढे २ घण्टापछि २ हजार २ सय ६० अंकबाट २ हजार ३ सय १३ अंकसम्म पुगेर झन्डै ५३ अंकको सुधार भएको बजार अन्तिम समयमा फेरि घटेर सो विन्दुमा कायम भएको हो ।
आज बजारमा १ सय ८९ कम्पनीको कारोबार भएकोमा १ सय ८२ कम्पनीको शेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्य बढ २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको गिरावटसँगै बजारले आज १ खर्ब १२ अर्ब रुपैयाँ गुमाएको छ । अघिल्लो दिन ३३ खर्ब १९ अर्ब रहेको बजारको कुल पुँजीकरण घटेर ३२ खर्ब ७ अर्ब रुपैयाँमा झरेको छ ।



