images
images

तीन हजार बढी करदाताले बुझाएनन् विवरण


  • 422
    SHARES
  • २०८२ बैशाख ९ गते मंगलबार

    तीन हजार बढी करदाताले बुझाएनन् विवरण
    चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् । 
     
    कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरुले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए । 
     
    उनले भने, “पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९०० करदाताले विवरण बुझाएका छन् ।” यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाहरुलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन् ।
     
    विवरण नबुझाउँदा शुल्क र ब्याज करदाताले तिर्नुपर्ने भएकाले ब्याजबाट जोगिन करदाताहरुलाई उनले आग्रह गरे । कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन् । आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, सङ्कलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायतका काम भइरहेका छन् । 
     
    कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९० दशमलव ३८ प्रतिशत कर सङ्कलन गरेको छ । गत चैत मसान्तसम्म रु १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिभित्र राजस्व विभागले रु १८ अर्ब ३४ करोड ६९ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । 
     
    गत आर्थिक वर्षको सोही समयमा कार्यालयले रु १३ अर्ब ९३ करोड ८३ लाख १० हजार राजस्व सङ्कलन गरेको थियो । सो समयमा विभागले रु १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार लक्ष्य तोकेको थियो । विभागले तोकेको लक्ष्यको ७० दशमलब ०५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको थियो । 


    images
    images

    Logo