काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा माछापुच्छ्रे बैंकले उल्लेखनीय नाफा कमाएको छ । बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा झन्डै २५ करोड रुपैयाँले बढी हो ।
गत वर्ष यसै समयमा बैंकले ८५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ब्याजदर घट्नु र व्यवसाय विस्तार हुनुले बैंकको वित्तीय स्थितिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
खुद ब्याज आम्दानीमा उल्लेखनीय सुधार आएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्म ३ अर्ब ८५ करोड रुपैयाँ रहेको आम्दानी हाल ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, फि तथा कमिसन आम्दानीमा पनि वृद्धि देखिएको छ ।
एक वर्षको अवधिमा बैंकले ११ अर्ब रुपैयाँ निक्षेप थपेर करिब १४ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । चैत मसान्तसम्म बैंकको कुल निक्षेप १ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब ४० अर्ब ६१ करोड रुपैयाँमा रहेको छ ।
गत वर्षको तुलनामा घाटा व्यवस्थापनका लागि छुट्याइएको रकम थोरै भएकाले नाफा बढ्न सहयोग पुगेको हो । यस अवधिमा बैंकले ७१ करोड ५७ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको छ ।
नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष ९ रुपैयाँ ८१ पैसा थियो ।
बैंकको प्रति सेयर नेटवर्थ १५६ रुपैयाँ २० पैसा पुगेको छ । तर, निष्क्रिय कर्जा अनुपात भने बढेर ४.५९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३.६८ प्रतिशत थियो ।
हाल बैंकको प्राथमिक पूँजी अनुपात ८.८ प्रतिशत रहेको छ ।
नाफा बढेपनि वक्यौता ब्याज र गैरबैंकिङ सम्पत्तिका कारण वितरणयोग्य नाफा भने ७ करोड ७ लाख रुपैयाँ मात्रै रहेको छ । यसअनुसार बैंकले ०.३६ प्रतिशत लाभांश दिन सक्ने अनुमान गरिएको छ ।
अघिल्लो वर्षको यही अवधिमा भने बैंकले लाभांश दिनसक्ने अवस्था थिएन ।



