काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा करिव २२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार ८ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो ।
यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँको १२ लाख ४९ हजार ४ सय ८१ थान स्मार्टफोन आयात भएको थियो ।
यसैगरी सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोनसेट आयात भएको विभागले जनाएको छ । उक्त परिमाणमा टेलिफोन सेट आयात हुँदा २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
नेपालमा चीन, भारत, अमेरिका, युएई, क्यानाडा, जापान, कोरिया, भियतनाम लगायतका देशहरूबाट मोबाइल आयात हुने गरेको छ। तीमध्ये चीन र भारतबाट सबैभन्दा धेरै मोबाइल भित्रिएको छ।
जसमा चीनबाट सबैभन्दा धेरै १५ अर्ब ९ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरका ११ लाख ७ हजार ८३ सेट मोबाइल आयात भएका छन्। त्यस्तै, भारतबाट ६ अर्ब ३९ करोड ९ लाख ६५ हजार रुपैयाँ बराबरका मोबाइल फोन आयात भएको विभागले जनाएको छ ।



