काठमाडौं । ब्याजदरलाई वृद्धिलाई सीमित गर्नेगरी नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरको प्रभाव शेयर बजारमा देखिएको छ । सोमबारको शेयर २६.४४ अंकले बढेर १ हजार ७ सय १५ विन्दुमा पुगेको हो । बजारमा आज ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
राष्ट्र बैंकको सर्कुलरले एउटै प्रकृतिका बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदरको १० प्रतिशतसम्म मात्रै ब्याजदर घटबढ गर्न पाउने व्यवस्था गरेको थियो । यो सर्कुलरपछि यसअघि १०.३० प्रतिशत हाराहारीमा पुग्ने अनुमान गरिएको वाणिज्य बैंकको ब्याजदर १०.५ प्रतिशत हाराहारीमा सीति हुने देखिएको छ ।
सर्कुलरका कारण ब्याजदरको वृद्धि झन्डै २५ बेसप्वाइन्ट कम हुनेदेखिएपछि शेयर बजार बढेको हो । बजारमा आज १ सय ६३ कम्पनीको मूल्य बढ्दा २० कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने आज स्थिर रह्यो ।
आज पनि बोटलर्स नेपालको शेयरमूल्यमा १० प्रतिशतको वृद्धि भयो । मानुषी लघसवित्त, तेह्रथुम पावर र मैलुङखोलाको शेयरमा समेत उच्च वृद्धि देखियो । अघिल्लो दिन उच्च वृद्धि रहेको महालक्ष्मी विकास बैंको शेयरमूल्य भने आज सबैभन्दा बढी झन्डै ५ प्रतिशतले घट्यो ।



