काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै गत बर्षको यहि अवधिको तुलनामा केहि उकालो लाग्दै उक्त अंकमा महंगी पुगेको बताएको हो ।
गत बर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य र पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत, भने गैर–खाद्य र सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ।
पुष महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशत, घ्यू तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ ।
प्रदेशगत रूपमा, कोशी प्रदेशको वार्षिक उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको ४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकामा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईमा ५.६० प्रतिशत, पहाडमा ५.४१ प्रतिशत र हिमाल क्षेत्रमा ५.२७ प्रतिशत रहेको छ।



