काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा निर्यात ३१.८ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्ष पहिलो ६ महिना (साउन–पुस) मा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा ३१.८ प्रतिशतले वृद्धि हो। गत आर्थिक बर्षको सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
त्यसैगरी पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आर्थिक बर्ष पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।
पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको छ । अर्थ मन्त्रालयका सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा भने ८.२ प्रतिशत मात्र बढेको थियो ।
त्यसैगरी पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप संकलन ३.३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो ।
चालु आर्थिक वर्ष पहिलो ६ महिनामा कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चमध्ये ५६ अर्ब ९४ करोड खर्च भएको जनाएको हो । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो ।
यसैगरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनाको तुलनामा ४३.२ प्रतिशत खर्च हो ।
चालु आर्थिक वर्ष पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ । यो भनेको वार्षिक विनियोजनको तुलनामा ४५.४ प्रतिशत बराबर हस्तान्तरण हो ।
त्यस्तै राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो । यो ३२.५ प्रतिशत हस्तान्तरण हो ।



