काठमाडौं । दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि हटाएको छ ।
यससँगै भारतले नेपालका लागि दुई लाख टन गहुँ निर्यात अनुमति पनि दिएको छ । विश्वका प्रमुख गहुँ निर्यातक रूस र युक्रेनबीच युद्ध भएपछि संसारभर गहुँको मूल्य आकाशिएको थियो ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत् नेपाललाई गहुँ दिन सहमति जनाएको जानकारी दिएका छन् ।
‘भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरेको छ । नेपाल सरकार को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यात अनुमति दिएको हो,’ शर्माले एक्समा लेखेका छन् ।
भारत सरकारले सन् २०२२ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । गहुँ र आटाको मूल्यवृद्धि रोक्न र खाद्य सुरक्षा बलियो बनाउन भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएएको थियो ।
प्रतिबन्धबीच यसपहिले पनि भारतले नेपाललाई कोटासहित गहुँ खुलाइदिएको थियो । भारतले यसअघि सन् २०२३ मार्चसम्म ५० हजार टन गहुँ नेपाल पठाउने अनुमति दिएको थियो ।
नेपालको उत्पादनले मात्रै बजारमा गहुँको माग नधानेपछि आयात गर्नुपर्छ । नेपालमा २१ लाख टन गहुँ उत्पादन भइरहेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छ ।



