काठमाडौं । काम सम्पन्न गर्नका लागि तोकिएको मितिको ९ महिना बाँकी हुँदा नागढुङ्गा सुरुङमार्गको काम अझै १६.२५ प्रतिशत बाँकी रहेको छ । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको समग्र भौतिक प्रगति ८३.७५ प्रतिशत र वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार निर्माण सुरु भएको ५ वर्ष पुरा हुँदासम्म १६.२५ प्रतिशत काम अझै बाँकी रहेको हो ।
पछिल्लो समय थपिएको म्याद अनुसार अब यो सुरुङ मार्ग निर्माण ९ महिना सकिसक्नुपर्ने छ । तर, यो अवधिभित्र निर्माण पुरा हुने र नहुनेमा अन्योल कायमै छ ।
यो आयोजना निर्माणको ठेक्का सम्झौताअनुसार सुरुको म्याद २०८० वैशाख १३ गते (२०२३ अप्रिल २५) सम्म म्याद रहेको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ वैशाख १३ (२०२४ अप्रिल २५) गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः २०८२ कात्तिक ८ गते (२५ अक्टोबर २०२५) सम्मका लागि म्याद थप गरिएको थियो ।
जापनिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले २०७६ कार्तिक (२०१९ नोभेम्बर)देखि उक्त सुरुङ मार्ग निर्माण सुरु गरेको थियो । करिब २३ अर्ब लागत रहेको परियोजनामा १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले दिएको थियो । बाँकी ५ अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।



