काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आंशिक उत्पादन थालेको छ । तर, उद्योगहरूमा जारी ८ घण्टाको अघोषित लोडसेडिङ यथावत् छ । ९ पुसदेखि माथिल्लो तामाकोसी आयोजनाबाट १ सय २० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । तर, ४ सय ५६ मेगावाटको ‘पिकिङ रन अफ द रिभर’ आयोजना पूर्णक्षमतामा सञ्चालनमा नआउँदा विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टाका दरले विद्युत् कटौती (लोडसेडिङ) गरिरहेको छ ।
सबै उद्योग नभएर केहीमा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । अहिले ३ सयदेखि ३ सय ५० मेगावाटसम्म विद्युत् अपुग हुँदा त्यही मात्रामा उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको जनाइएकाे छ ।
त्यतिमात्र नभई ट्रान्समिसन लाइनको क्षमताले धान्न नसक्दा विद्युत् प्रसारणमा समस्या भएका क्षेत्रमा विद्युत कटौती भएको प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणको तथ्यांक अनुसार अहिले पिक आवरमा करिब २ हजार मेगाावाट विद्युत् माग छ । त्यसमध्ये मुलुकको उत्पादन र आयात समेत गरेर करिब १ हजार ६ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।
भारतले पिक आवरमा नेपाललाई विद्युत् निर्यात नगर्ने गरी सम्झौता गरेको छ, त्यसो हुँदा भारतबाट विद्युत् आयात हुन्छ नै भन्ने ग्यारेन्टी नहुँदा उद्योगहरूमा दैनिक साढे ३ सय मेगावाट विद्युत् दिन नसकिएको प्राधिकरणले जनाएकाे छ ।
हिउँदको समयमा अझै चार–पाँच वर्ष विद्युत् कटौती हुने अवस्था देखिएको हुँदा उद्योगहरूले त्यही अनुसार जुन बेला विद्युत् पर्याप्त हुन्छ, त्यसबेला हिउँदका लागि समेत उत्पादन गरेर राख्ने गरी योजना बनाउनुपर्ने प्राधिकरणकाे धारणा छ ।
प्राधिकरणले अघोषित जथाभावी विद्युत् कटौती गर्दा उत्पादनमै समस्या भएर लागत बढेको उद्योगीहरू बताउँछन् ।



