images
images

भेरी–बबई डाइभर्सनको भौतिक प्रगति करिब ६६ प्रतिशत


  • 373
    SHARES
  • २०८१ पौष १३ गते शनिबार

    भेरी–बबई डाइभर्सनको भौतिक प्रगति करिब ६६ प्रतिशत

    काठमाडौं । बहुउद्देश्यीय भेरी–बबई डाइभर्सनको भौतिक प्रगति झन्डै ६६ प्रतिशत भएको छ । अबको दुई वर्षभित्र भेरी नदीको पानी बबई नदीमा झारेर सिँचाइ र बिजुली उत्पादन शुरू हुनेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

    आयोजनाका निर्देशक रणबहादुर बमका अनुसार बहुउद्देश्यीय आयोजनाको अहिलेसम्म ६५ दशमलव ८ प्रतिशत भौतिक प्रगति छ । जसअन्तर्गत सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत, हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रसारण लाइनको भौतिक प्रगति ५ प्रतिशत छ ।

    भेरी–बबई राष्ट्रिय गौरवको आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६ दशमलव ८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

    आर्थिक वर्ष २०६८/६९ देखि आयोजनाको काम अघि बढेको थियो । सिँचाइ विभागको संशोधित गुरुयोजनाअनुसार सुरुङ निर्माण, बाँध, विद्युत् गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिक ललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण छ ।

    भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टीबीएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ । चीनको सीआईसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) को संयुक्त निर्माणमा आयोजना बनिरहेको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुउद्देश्यीय आयोजनाको कामलाई गति दिने विषयमा आयोजना कार्यान्वयनको सम्बद्ध पक्षसँग छलफलसमेत गरेका छन् । आयोजनाको साइड कार्यालय हात्तीखाल सुर्खेतमा भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले कामलाई गति दिन आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराएका छन् । उनले यो आयोजनाले लुम्बिनी प्रदेशको कृषि, ऊर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।


    images
    images

    Logo