images
images

माथिल्लो तामाकोशी सञ्चालनमा : घरायसी उपभोक्ताका लागि 'लोडशेडिङ' गर्नुपर्ने जोखिम हट्यो


  • 363
    SHARES
  • २०८१ पौष ११ गते बिहीबार

    माथिल्लो तामाकोशी सञ्चालनमा : घरायसी उपभोक्ताका लागि 'लोडशेडिङ' गर्नुपर्ने जोखिम हट्यो

    काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आंशिक उत्पादन शुरू भएपछि विद्युत् वितरणमा केही राहत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गएकाे असोज १२ गतेको पहिरोले क्षति पुर्‍याएकाे आयोजना गएरातीदेिख आंशिक रूपमा सञ्चालनमा आएको हो । आयोजनाको ४ सय ५६ मेगावाट क्षमतामध्ये अहिले १ सय २० मेगावाट उत्पादन भइरहेको छ ।

    पुसभरि १ सय २५ देखि एक सय ३० मेगावाटसम्म बिजुली उत्पादन हुने र माघदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । उनका अनुसार बालुवा थिग्र्याउने दुई वटा पोखरीमध्ये एउटाको मर्मत सकिएर सञ्चालनमा ल्याइएको हो । अर्को पनि माघसम्ममा सञ्चालनमा ल्याउने तयारी छ ।

    दिउँसो पानी थुनेर बिजुलीको माग धेरै हुने समयमा पूर्ण क्षमतामा चलाउन सकिने भएकोले हिउँदको माग व्यवस्थापनका लागि माथिल्लो तामाकोशी महत्त्वपूर्ण रहेको प्राधिकरणका प्रवक्ता घाेषले बताए । उनका अनुसार माथिल्लो तामाकोशी आंशिक रूपमा सञ्चालनमा आएसँगै घरायसी उपभोक्ताका लागि लोडशेडिङ गर्नुपर्ने जोखिम हटेको छ ।

    अहिले नेपालको जलविद्युत् जडान क्षमता ३ हजार ४ सय मेगावाट नाघेको छ । तर धेरैजसो आयोजनाहरू नदी प्रवाह प्रणालीमा आधारित भएकाले हिउँदका महिनामा बिजुली उत्पादन निकै घट्ने गरेको छ । अघिल्लो वर्षको हिउँदमा क्षमताको एक तिहाइ मात्रै उत्पादन भएको थियो ।

    अहिले भारतबाट बिजुली आयात भइरहे पनि धेरै माग हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतले बिजुली दिँदैन । त्यसैले धेरै माग हुने समयमा ठूला उद्योगहरूमा लोडशेडिङ भइरहेको प्राधिकरणले जनाएको छ ।


    images
    images

    Logo