काठमाडौं । बढ्दो विदेश जाने क्रमसँगै डिपोर्ट (निष्कासन) हुँदै फर्किने नेपालीको संख्या पनि बढ्दै गएको छ । बितेको करिव एक वर्षमा अर्थात् सन् २०२४ जनवरी १ देखि डिसेम्बर २३ सम्मको अवधिमा विभिन्न देशले एक हजार २२८ जनालाई नेपालीलाई ‘डिपोर्ट’ गरेका छन् ।
बितेको एक वर्षमा ५६ देशले नेपाली नागरिकलाई डिपोर्ट गरी पठाएका छन् । उक्त अवधिमा ल्याटिन अमेरिकी राष्ट्र बोलेभियादेखि अफ्रिकी राष्ट्र आइभेरी कोस्टसम्मबाट डिपोर्ट गरी नेपालीलाई फर्काइएको छ ।
कुन देशबाट कति ?
यूएई २८२ जना
जापान ११५ जना
मलेसिया ११४ जना
दक्षिण कोरिया ७५ जना
कतार ६७ जना
टर्की ६६ जना
अजरबैजान ४३ जना
भारत ३९ जना
रोमानिया ३८ जना
अमेरिका ३५ जना
क्रोएसिया ३३ जना
कुवेत ३३ जना
सिंगापुर ३२ जना
थाइल्यान्ड २९ जना
साउदी अरेबिया २३ जना
माल्दिभ्स २२ जना
बेलायत २२ जना
बुल्गेरिया १६ जना
लाओस १४ जना
अष्ट्रेलिया १२ जना
सर्विया १२ जना
चीन ११ जना
साइप्रस १० जना
बंगलादेश ९ जना
हङकङ ७ जना
त्यसरी बहराइन, कम्बोडिया, फ्रान्स, ग्रिस, माल्दोभा, नर्थ म्यासेडोनिया, ओमान, पोल्यान्ड र श्रीलंकाले दुई–दुई जना नेपालीलाई निष्कासन गरेको छ ।
अल्बानिया, अष्ट्रिया, बेलारुस, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, कोलम्बीया, आइभेरी कोस्ट, इजिप्ट, फिनल्यान्ड, गुयना, हंगेरी र रुसले एक–एक जना नेपालीलाई ‘डिपोर्ट’ गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागको तथ्याङ्कले सबैभन्दा ठूलो संख्यामा नेपाली ‘डिपोर्ट’ वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएका देशबाट हुने गरेको देखाएको छ ।
बितेको करिब एक वर्षमा यूएई, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, ओमान, मलेसिया, कुवेत, जापान र बहराइन गरी ९ देशले मात्र ७१३ जना नेपालीलाई ‘डिपोर्ट’ गरेका छन् । यो भनेको कुल ‘डिपोर्ट’ हुने नेपालीको ५८.०६ प्रतिशत हो ।
सामान्यतया, गम्भीर अपराध गरेका, गैरकानुनी रूपमा देशमा प्रवेश गरेका, आफ्नो भिसाको सर्त तोडेका वा सम्बन्धित देशमा रहन कानुनी हैसियत गुमाएका विदेशीहरूलाई प्रशासनिक रूपमा हटाउन वा देश निकाला (डिपोर्ट) गरिन्छ ।
पछिल्ला वर्षहरूमा ‘डिपोर्ट’ हुने नेपालीको संख्या बढ्दो क्रममा छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार बितेको करिब चार वर्षमा मात्र विभिन्न देशले ४ हजार ७१८ जना नेपालीलाई ‘डिपोर्ट’ गरेका छन् । सन् २०२१ मा विभिन्न देशले ८८० जना नेपालीलाई ‘डिपोर्ट’ गरेका थिए ।
सन् २०२२ मा आइपुग्दा यो संख्या बढेर १ हजार १६७ पुगेको थियो । सन् २०२३ मा विदेशबाट ‘डिपोर्ट’ भई नेपाल फर्कने नेपालीको संख्या १ हजार ४४३ थियो । सन् २०२४ को जनवरी १ देखि डिसेम्बर २३ सम्म १ हजार २२८ जना नेपाली ‘डिपोर्ट’ भइसकेका छन् ।



