काठमाडौं । मंगलबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले पुस ११ गते बुकक्लोज गर्दैछन्। पुस १० गते क्रिसमसको सार्वजनिक बिदा भएका कारण नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
मञ्जुश्री फाइनान्स लिमिटेडले पुस २८ गते, आइतबार, थापागाउँ ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगै मर्जर अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वासाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल प्रा. लि., बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते आइतबार, कोमल होटल प्रा.लि.को सभाहल, मिथिला नगरपालिका ६, ढल्केबर, धनुषामा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
यता माउन्टेन इनर्जी नेपाल लिमिटेडले पुस २८ गते, आइतबार, अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २७ गते, शनिबार, काठमाडौँ प्रा.लि., थापागाउँ, नयाँ बानेश्वरमा १३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहका ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।



