काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीनवटा कसुरमा अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको हो ।
लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ । उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत पुर्याइएको थियो ।
शुक्रबार नै अदालतले दिएको म्याद सकिए पनि शनिबार विदा भएकाले आइतबार मात्रै अभियोगपत्रसाथ सरकारी वकिल कार्यालयले उपस्थित गराएको हो ।
दोस्रो चरणको अनुसन्धानमा छविलाल बन्जाडे जोशी असोज ६ गते पक्राउ परेका थिए । त्यसपछि प्रहरीले ९० दिन लगाएर अनुसन्धान टुंग्याएको हो ।
दोस्रो चरणको अनुसन्धानमा ३१ जनाविरुद्ध अभियोग पत्र दायर गरिएको छ । ती मध्ये लिला पछाइ र विश्वविक्रम राईलाई क्रिप्टो कारोबारको आरोपमा राष्ट्र बैंक ऐनसम्बन्धी कसुर समेत लगाइएको छ ।



