काठमाडौं । बोटलर्स नेपालको शेयर कारोबार रोक्का भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गरे गरेको लाभांश सम्बन्धि निर्णय समयमा पेश नगरेको भन्दै नेप्सेले बोटलर्स नेपाललाई कारबाही गरेको हो ।
बोटलर्स नेपालले मंसिर ५ गते बैठक बसेर गरेको लाभांश वितरण नगर्ने सम्बन्धि निर्णय नेप्सेमा पुष २ गतेमात्र पेश गरेको पाइएको छ । कम्पनीले आफ्ना सीमित लगानीकर्ताहरुलाई मात्र थाहा हुनेगरी कारोबार गरेको छ । कम्तिमा १ महिनासम्मको अवधिमा उक्त निर्णय नेप्सेमा पेश नगरेको कारण आम लगानीकर्ताले बोटलर्स नेपालमाथी प्रश्न गरेका छन् ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएका सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था भएकाले सोही व्यवस्था अनुरुप नेप्सेले बोटलर्स नेपाललाई कारबाही गरेको छ ।
नेप्सेले कम्पनीले ३ कार्यदिन भित्र के कति कारणले उक्त निर्णय ढिला पेश गरेको स्पस्टीकरण बुझाउन निर्देशन दिएको छ ।




