images
images

बाढीले माथिल्लो तामाकोशी बन्द, औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने


  • 386
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    बाढीले माथिल्लो तामाकोशी बन्द, औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने

    काठमाडौं । माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म साँझको समयमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने भएको छ ।

    हिउँदयाम सुरुसँगै देशभित्रका नदी प्रवाही जलविद्युत आयोजनाको उत्पादन एक तिहाइ घट्ने तर, पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको बिजुली कटौती गर्नु पर्ने अवस्था आएको विद्युत प्राधिकरणले जनाएको हो ।

    संचालनमा रहेका जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था भने नरहेको प्रष्ट पारेका छन् ।

    असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

    भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते ९१५ मार्च २०२५० सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।

    तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था रहेको पनि प्राधिकरणको भनाई छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।

    घिसिङले भने, ‘पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ ।’


    images
    images

    Logo