काठमाडौं । रोजगारदाता र श्रमिकको सहमतिमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कुल लगानी एक खर्ब रुपैयाँ नाघेको छ । कोषले बैंकमा राखेका निक्षेपसँगै विकास ऋणपत्र, डिबेन्चर, ट्रेजरी बिल्स र म्युचुअल फन्डमार्फत् हालसम्म एक खर्ब तीन अर्ब रुपैयाँ लगानी गरेको छ ।
कोषले आठ दशमलव ९७ प्रतिशत वार्षिक व्याजदर लागू गरेर एक अर्ब ९८ करोड रुपैयाँ विकास ऋणपत्रमार्फत् लगानी गरेको छ । कोषले प्रत्यक्ष लगानीको सट्टा अप्रत्यक्ष रूपमा लगानी गरिरहेको छ । निजी क्षेत्रको जस्तो जोखिम र नाफा लिन नसक्ने स्थिति भएकाले कोषले सरकारको आर्थिक मेरुदण्डको रूपमा अप्रत्यक्ष लगानी गर्न थालेको हो ।
कोषले ट्रेजरी बिल्समा पाँच अर्ब ४४ करोड रुपैयाँ, ऋणपत्रमा तीन अर्ब ७१ करोड रुपैयाँ, म्युचुअल फन्डमा ४१ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा ८३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ । साथै, कोषले योगदानकर्तालाई तीन अर्ब ३८ करोड रुपैयाँ कर्जा दिएको छ । ट्रेजरी बिल्समा नौ दशमलव ६२ प्रतिशत, ऋणपत्रमा आठ दशमलव ९७ प्रतिशत, विकास ऋणपत्रमा आठ दशमलव ९७ प्रतिशत र मुद्दती खातामा नौ दशमलव ६९ प्रतिशत व्याजदरको लगानी गरिएको छ । ट्रेजरी बिल्स भने अल्पकालीन सरकारी ऋणपत्र हो, जुन एक वर्ष वा त्यसभन्दा कम अवधिका लागि जारी गरिन्छ ।
कोषको लगानी कार्यविधि, २०७७ अनुसार, कोषले विभिन्न प्रकारका लगानी गरिरहेको छ, जसमध्ये विकास ऋणपत्र, डिबेन्चर, ट्रेजरी बिल्स, मुद्दती खाता र म्युचुअल फन्ड प्रमुख छन् । यो कार्यविधिको दफा ३ देखि दफा ८ मा सरकारी ऋणपत्र, मुद्दती निक्षेप, सेयर, डिबेन्चर, म्युचुअल फन्ड र स्थिर सम्पत्तिमा लगानी गर्ने व्यवस्था गरिएको छ ।
कोषले अहिले पनि रोजगारदाता र योगदानकर्तालाई सूचीकृत गर्दै आएको छ ।
पछिल्लो समय, कोषमा योगदानकर्ताको संख्या र योगदान रकममा वृद्धि भएको छ । मंसिर दोस्रो सातासम्म, कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ, गत आर्थिक वर्षको सोहि अवधिमा ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो ।



