काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३२ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३ स्क्रिपको ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ८७ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार ८५ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ। अन्य उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सानिमा माइ हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।



