images
images

निर्माणाधीन लुम्बिनी प्रादेशिक डिपोको निरीक्षणमा आपूर्ति सचिव र आयल निगमका कार्यकारी निर्देशक


  • 613
    SHARES
  • २०८१ मंसिर १९ गते बुधबार

    निर्माणाधीन लुम्बिनी प्रादेशिक डिपोको निरीक्षणमा आपूर्ति सचिव र आयल निगमका कार्यकारी निर्देशक

    काठमाडौं । उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशक आयल निगमको नयाँ बन्ने लुम्बिनी प्रादेशिक डिपो परियोजनाको निरिक्षणमा पुगेका छन् । मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की र आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट रोहिणी नदि किनारमा बन्दै गरेको भण्डारण क्षमता वृद्धि परियोजनाको निरिक्षणमा पुगेका हुन् । 

    आयल निगमको ४० वर्ष पुरानो भलबारी डीपो स्थानान्तरण गरी सो स्थानमा नयाँ अत्याधुनिक डिपो बन्दैछ । डिपोका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको भैसकेको छ ।

    तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ । 
    डीपीआर निर्माणका लागि केही दिनअघि काठमाडौ विश्वविद्यालयको इन्जिनियरिङ विभागसँग निगमले भैरहवाको निर्माणाधीन आयोजना स्थलमा डीपीआर सम्झौता गरेको थियो ।

    डीपीआरको लागत १ करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ छ । नयाँ बन्ने डीपो १४ बिगाहा र अन्य गरि २१ बिगाहा क्षेत्रफलमा रहनेछ । रुपन्देहीस्थित रोहिणी गाउँपालिका र सत्या गाउँपालिकाको सिमानामा पर्ने रोहिणी खोला किनारमा बन्ने नयाँ डीपोको लागत ३ अर्ब २० करोड हुनेछ ।

    डीपीआर सम्झौतामा आयल निगमका उपनिर्देशक तथा हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप यादव र काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ विभागका कन्सल्टेन्सी विभाग प्रमुख इन्जिनियर विवेक बरालले हस्ताक्षर गरेका थिए ।

    डीपो निर्माण गर्न पहिलो चरणमा जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने काम भइरहेको हो । सो काममा रोहिणी खोलामा आएको बाढीले केही अवरोध गरे पनि अब भने बाढीको प्रभाव घटेकाले पहिलो चरणका सबै काम सम्पन्न गर्ने आयोजनाको तयारी छ ।

    No description available.

    भण्डारण गृहको निर्माणका लागि परियोजनामा संलग्न इन्जिनियर अंकित रिमालका अनुसार जग्गा सम्याउने र वाल लगाउने गरी करिब ९० प्रतिशत काम हालसम्म सम्पन्न भइसकेको छ ।

    हाल निर्माण हुने डिपो भन्दा पुरानो डिपो १५ किलोमिटरको दुरी छ । नयाँ बन्ने डिपो भैरहवाको ओमसत्या गाउँपालिका ५ र रोहिणी गाउँपालिका ३ भित्र बन्नेछ । ओमसत्या गाँउपालिकामा ७० प्रतिशत जग्गा पर्छ भने रोहिणी गाउँपालिकामा ३० प्रतिशत पर्छ। सो जमिन निगमले २०७३ सालमा खरीद गरेको थियो ।

    निगमको भलवारीको भण्डारण गृह भने चालीस वर्ष पुरानो हो । सो भण्डारण गृहको क्षेत्रफल कम छ भने धेरै गाडीको चाप हुँदा असुरक्षित मानिन्छ । सो भण्डारण गृह बस्तीको बीचमा भएकालेसमेत असुरक्षित मानिएर त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको हो । 

    भलबारी डीपोमा ५१९ किलोलिटर क्षमताको पेट्रोल स्टोरेज ट्यान्की छ भने डिजेलको ३ हजार ४० किलोलिटर तथा मट्टीतेलको १४० किलोलिटर क्षमताको ट्यांकी छ । हालको भण्डारण क्षमताले पेट्रोल २ दिन तथा डिजेल ५ देखि ६ दिनका लागि मात्र माग धान्न सक्ने क्षमता छ ।

    हाल निर्माण भइरहेको नयाँ भण्डारण गृह बन्दा लुम्बिनी प्रदेश भरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्यांकी बन्ने छ । जहाँ तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्यांकीमा कुल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डार गृह, ७६० किलोलिटर अटाउने तीन वटा भर्टिकल ट्यांकीमा २२ सय ८० किलोलिटर पेट्रोल तथा २५० किलोलिटर क्षमताको दुई भर्टिकल ट्यांकीमा कुल ५ सय किलोलिटरको मट्टीतेल भण्डार गृह बन्नेछ । डीपो भित्र १५० वटा टैंक ट्रक सजिलै आवतजावत गर्न सक्ने ठूलो क्षमताको पार्किङ स्थल पनि हुनेछ ।

    अमेरिकन पेट्रोलियम ईन्स्टिच्युट (एपीआई) को मापदण्डलाई पुर्ण पालना गरि बन्ने डीपोमा नवीन सुरक्षा प्रणाली जडान हुनेछ भने पुर्ण अटोमेसनमा आधारित हुनेछ ।


    images
    images

    Logo