काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । । सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४१ अंकले बढेर २ हजार ७ सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको ७ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४२ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार २ सय ११ कम्पनीको शेयर मूल्य बढेको छ । ३२ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक .९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।



