काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएर नफर्किने प्राध्यापक खोज्न थालेको छ । प्राध्यापकबाट अध्ययन बिदाको चरम दुरुपयोग भएको समाचार सार्वजनिक भएपछि त्रिविले आफ्नो शिक्षक कहाँ छन् भनेर खोजी गर्न लागेको हो ।
२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । तर, यसको रेकर्ड त्रिविसँग छैन । १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन । त्यसैले पहिलो चरणमा तथ्यांक संकलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोडभन्दा धेरै हुन आउँछ ।
विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ३० मा शिक्षक तथा कर्मचारीलाई बढीमा ५ वर्षसम्म अध्ययन बिदा दिन सकिने, ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।



