काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.८३ अंकले बढेर २ हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको १ करोड २२ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।
सोमबार १ सय ६९ कम्पनीको शेयर मूल्य बढेको छ । ६७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बेष्ट फाइनान्सको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन बेस्ट फाइनान्सको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
सोमबार बेष्ट फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.९१ प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोपावरको शेयर मुल्य ९.९१ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य ९.८५ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको ९.७८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.६९ प्रतिशत बढेको छ।



