images
images

गौतम बुद्ध विमानस्थबाट पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान


  • 323
    SHARES
  • २०८१ मंसिर ९ गते आइतबार

    गौतम बुद्ध विमानस्थबाट पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान

    काठमाडौं । दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले अहिले भैरहवाबाट उडान सुरु गरेका छन् । कुनै समय असान्दर्भिक हुन लागेको भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बनेको छ, स्थानीय व्यवसायी पनि उत्साहित छन् । 

    काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल विस्तार हुन लागेकाले उडान कटौती भएको अवस्थामा भैरहवा सरेका एयरलाइन्सको सेवा दीर्घकालीन हुन्छ/हुन्न भन्नेमा भैरहवाका व्यवसायीको चासो छ । त्यस्तै, श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, कार्गो, क्वारेन्टाइन जस्ता सेवा भैरहवामा नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता पनि छँदै छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा साना–ठूला सवारी साधनको घुइँचो छ । यात्रुको स्वागत तथा बिदाइका लागि आएका आफन्त र सुरक्षाकर्मीको ओहोरदोहोरले विमानस्थल व्यस्त बनेको छ । फ्लाई दुबई र कतार एयरवेजका जहाज प्रत्येक दिन दिउँसो अवतरण गर्छन् । एयर एसिया, जजिरा र नेपाल एयरलाइन्सले पनि उडान गरेका छन् । ठूला जहाज अवतरण/उडान गरेको अवलोकन गर्न भैरहवा–लुम्बिनी सडक किनारमा सर्वसाधारणको पनि भीड लाग्छ ।

    भैरहवा विमानस्थलबाट नियमित उडान भइरहँदा रूपन्देही र आसपासमा आर्थिक गतिविधि बढ्ने विश्वासमा निजी क्षेत्र उत्साहित छ । विमानस्थल निर्माणसँगै पर्यटक बढ्ने विश्वासमा धेरै उद्योगी, व्यवसायीले होटल र रेस्टुरेन्टमा लगानी गरेका छन् । विमानस्थल उद्घाटनपछि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा धेरै व्यवसायी निराश बनेका थिए । धेरै होटल अधुरै छाडिएका थिए । एकैपटक पाँच वटा वायुसेवाका जहाज भैरहवा आउन थालेपछि लगानीकर्ता पुनः जुर्मुराएका छन् । उनीहरूले अधुरै छाडेका होटलको निर्माणलाई निरन्तरता दिएका छन् ।

    बुद्ध जयन्तीका अवसर पारेर २०७९ जेठ २ मा विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान थालेको थियो ।


    images
    images

    Logo