काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.३१ अंकले घटेर २ हजार ६ सय ८० दशमलव ४४ विन्दुमा पुगेको छ । यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक ८ कारोबार दिन पछि २७०० विन्दुभन्दा तल बन्द भएको हो। यस अघि गत कात्तिक २१ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो।
आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ८ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड ८४ लाख कित्ता शेयर किनबेच भएको छ ।विहीबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ७ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
विहीबार ४३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोको १९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सामुदायिक लघुवित्त र थ्रि स्टार हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।



