काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ५० भन्दा बढी अंकले घटेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०९ अंकले बढेर २ हजार ७ सय ११ दशमलव ७५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको ३ सय २३ स्क्रिपको ७ अर्ब ०९ करोड रुपैयाँ बराबरको १ करोड ५४ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्से सामान्य अंक बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे १० अर्बको शेयर खरिदबिक्री भएको थियो ।
यस दिन विकास बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ३२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलोपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयर सकारात्मक सर्किट लागेको हो ।



