काठमाडौं । बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सरकार विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।
बर्खास्ती खारेजीकाे माग गर्दै सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाउँदै आफुलाई कानुनी रुपमा हटाएर अन्याय गरेको भन्दै आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
अध्यक्ष ढुंगानालाई मन्त्रिपरिषद्को बैठकले असोज १९ गते पदबाट बर्खास्त गरेको थियो । सरकारले सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नदिएको भन्दै अर्थ मन्त्रालयको सिफारिसमा ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।
उनले असोज १७ गते आइतबार स्पष्टिकरण बुझाएका थिए । अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार बोर्डलाई हानी नोक्सानी पुर्याएको र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने बारे जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।



