काठमाडौं । नेपालमा विभिन्न समयमा अपराधमा संलग्न विदेशी कैदीबन्दी १ हजार ४ सय जना रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो भारतीयहरू चोरी, लागूऔषध ओसार–पसारलगायतका मुद्दामा संलग्न भएकाहरू कैद भुक्तानका लागि देशको विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
हाल नेपालका कारागारहरूमा भारत, भुटान, चीन, अमेरिका, क्यानडा, जर्मनी, म्यानमार, पाकिस्तान, बोलिभिया, जाम्बिया, सर्विया र बंगलादेशका नागरिकहरू छन् । नेपालका कारगारमा कुल २८ हजार बढी कैदीबन्दी छन् । तीमध्ये १ हजार ४ सयको हाराहारीमा विदेशी कैदीबन्दी रहेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये ४ प्रतिशत विदेशीको संख्या रहेको छ ।
त्यस्तै, नेपालमा अपराध गरेर १ हजार ३ सय ५७ जना विदेशी अपराधी फरार रहेका छन् । नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्ध रहेर अपराध गर्नेहरू सुरुमा अदालतको आदेशमा थुनामा रहने र पछि धरौटीमा छुटेपछि फरार हुने गरेका पाइएको छ । नेपालमा अपराध गरेर त्यसरी फरार हुने धेरै विदेशी नागरिकलाई नेपालले पक्रन सकेको छैन । पक्राउ परिहाले भने पनि तारेखमा छुट्ने र तारेखमा छुटेलगतै भाग्ने गरेका कारण मुद्दाको फैसला हुँदासम्म त्यस्ता अपराधी पक्राउ गर्न सकिएको छैन ।
यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालतको फैसला निर्देशनालयको अभिलेखमा उल्लेख छ ।
कर्तव्य ज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाका अदालतमा चाङ छन् । फैसला निर्देशनालयका अनुसार पारस्परिक कानुनीसम्बन्धी ऐन भए पनि दुई देशबीच सुपुर्दगी सम्झौता नहुँदा ठूलो अपराधमा मुछिएकालाई पक्राउ गरेर नेपाल ल्याउन समस्या देखिन्छ ।



