काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अंकले बढेर २ हजार ७ सय ४८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज कारोबार रकम ३ सय २१ स्क्रिपको १० अर्ब ३२ करोड रुपैयाँ बराबरको २ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो ।
विहीबार कारोबारमा आएका १ सय ५९ कम्पनीको शेयर मूल्य बढेको छ । ७९ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा गुराँस लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावर रहेका छन् ।



