काठमाडौं । मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको हो । जसअनुसार अद्यावधिक विवरणअनुसार देशभर कुल ३९ हजार ८४९ मतदाता थप भएका छन् ।
यस्तै उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन् । ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगले जनाएको छ ।
स्रोतका अनुसार आयोगको सोमबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी वेबसाइटमा प्रकाशन गरिएको हो । स्वीकृत मतदाता नामावली बमोजिम मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ र अन्य मतदाता १८७ गरी कूल १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् ।
त्यसै गरी जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छन् ।
मङ्सिर १६ गते ४४ पदका लागि उपनिर्वाचन हुँदै छ ।



