काठमाडौं । चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा आलटाल गरिरहेपछि सरकार ठेक्का तोड्ने तयारीमा पुगेको छ । २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो । छ वर्षमा बल्लतल्ल आधा मात्र काम गरेर आलटाल गरेपछि सरकार सम्झौता तोड्ने तयारीमा पुगेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएकाे छ ।
ठेक्का तोड्ने चेतावनीसहित सरकारले ठेकेदार कम्पनीलाई दोस्रो पत्र बुझाएको छ । काम ढिलो हुँदै गएपछि सरकारले २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो तर ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि सडक विभाग मातहतको आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । तेस्रो पटक थपिएको म्याद पनि यसै गुजारेपछि गत शुक्रबार दोस्रो पटक ठेक्का तोड्ने चेतावनीसहित कम्पनीलाई पत्र बुझाइएको छ ।
यो अवधिमा तीन पटक म्याद थपिएको छ । पछिल्लो समय अन्तिम पटक भन्दै गत साउन १० गते एक वर्षका लागि म्याद थपिएको हो तर म्याद थपिएपछि पनि दसैँअघि दाउन्नेमा भासिएको सडक मर्मत गर्नुबाहेक ठेकेदारले अरू काम गरेको छैन । हालसम्म पूर्वी र पश्चिम दुवै खण्ड गरेर ५३ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुखले जनाएका छन् ।



