काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का बिक्री गर्ने जनाएको हो ।
सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ‘सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दरले ‘फर्स्ट कम फर्स्ट सर्भिस’ का आधारमा १३ कात्तिक मंगलबार एकदिन मात्र बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म बिक्री गरिने छ,’ राष्ट्र बैंकको सूचनामा छ ।
चाँदीको स्मारिका तथा मेडालियन भने ११ कात्तिकदेखि १४ कात्तिकसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । ११ बजेदेखि मध्याह्न ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । चाँदीको मेडालियन भने गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य सक्कल नागरिकता वा परिचय खुल्ने प्रमाण र त्यसको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ । असर्फी तथा मेडालियन खरिद गर्न नगद तथा क्यूआर मार्फत समेत भुक्तानी गर्न सकिने छ । सुनको असर्फीको दर दैनिक निर्धारण हुने भएकाले सोही दिन ११ बजेपछि मात्र यस महाशाखाबाट बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।
यसको मूल्य राष्ट्र बैंकले निर्धारण गरिसकेको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ । तिहार सुरु हुनभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ । त्यो दिन धातुका सामानहरु किन्नु राम्रो हुने मान्यता राखिन्छ । राष्ट्र बैंकले विगतदेखि नै यो दिन सुनको असर्फी बिक्री गर्दै आएको छ । चाँदीको सिक्का र मेडालियन भने अरु समयमा पनि बिक्री गरिन्छ ।



